No icon

 पीडा, असुरक्षा संगै सेवामा एम्बुलेन्स चालकहरु

कमल चौधरी कपिलबस्तु ।  राजमार्ग सुनसान छ, दिनको मध्यान्नको समय छ । एउटा एम्वुलेन्स चालक पानी बेच्दै गरेको स्थानमा टक्क अडिन्छ । साहुँजी पानी दिनुहोस् न, थकित अनुहार, आखाँमा थकान झल्काउदै चालक पानी मागिरहन्छ । पसलेले हेर्छ तर पानी दिउँकी नदिउ असमञ्जसमा परिरहन्छ । पुनः चालकले पानी दिनुहोस् न पिलिज, आवाज दिन्छ । यस पटक पसलेले टाढैवाट पानीको वोतल गाडी भित्र फालिदिन्छ । यो त सानो प्रतिनिधि घटना मात्र हो । एम्वुलेन्स चालक दिन र रात नभनी विरामीको सेवामा खटिनु पर्ने अवस्थामा पनि उनीहरुलाई न त खाने ठाउँ पाउछन्, न त सुत्ने ठाउँनै पाउछन् । यो पिडा हो एम्वुलेन्स चालक विष्णु भट्टराईको ।
    रात दिन, घामपानी नभनि आफ्नो जीवन दाउमा राखेरा विरामीको सेवा गर्दै आईरहेका एम्बुलेन्स चालकहरु पछिल्लो समय ठुलो पिडा सहनुपरेको बताउँछन् । एम्वुलेन्स चालक तथा संयुक्त एम्वुलेन्स चालक संघका केन्द्रिय सदस्य विष्णु भट्टराईका अनुसार चालकहरु भनेका विरामीहरुको सच्चा साथी हुन् । जती असहज अवस्थामा पनि सेवा दिन तत्पर रहन्छन । न रात, न दिन, न चिसो, न गर्मी, एम्बुलेन्स चालक वाह्रै मासे सेवाका लागि फोनको घण्टी सगैं तुरुन्त सेवामा हाजिर हुने चरित्र हो हाम्रो । तर अहिले कोरानाको माहामारी सगैं  अपहेलित हुनु परेको महसुस भएको छ । घर परिवार, ईस्टमीत्र छरछिमेक र सर्वसधारणहरुले हेर्ने दृष्ट्रिकोण फरक रहेको छ, उनी बताउँछन् ।
बाणगंगा नगरपालिका वडा नं. ८ लौगाई निवासी विष्णु भट्टाराईले विगत ७ बर्ष देखि एम्बुलेन्स चालउँदै आएका छन् । समयमा खाना छैन, समयमा सुत्नु छैन, त्यसमाथि हामी संग सुरक्षित उपकरण नहुँदा त्रसित छौं र पनि सेवाका लागि हरपल तयार त र्छौ अझ त्यसमा विरामीलाई अस्पतालहरुले भर्ना नलिदा भने साह्रै पिडा हुने गरेको अनुभव सुनाउछन् । 
त्यस्तै बुटवलको मेडिटेक अस्पतालको एम्बुलेन्स चालक बुटवल उपमहानगरपालिका–७ दिपनगर निवासी राजु गुरुङ्गको पीडा पनि उस्तै छ । उनले भने– ‘आफु जो विरामी संग रात दिन काम गरिरहेका हुन्छौं । हाम्रोे लागि राज्यले कुनै सुरक्षाको सामाग्री उपलब्ध गरेको छैन ।’ भन्ने गुनासो सुनाए । 
‘सुरक्षाका समाग्रीहरु न अस्पताले दिएको छ, न राज्यले नै हामी चालकहरुको पीडा बुझिदिन्छ ।’ उनले भने ।  एम्बुलेन्स चालक गुरुङ्गले पछिल्लो समय ज्वरोका विरामी अस्पताले भर्ना लिन नमान्द हामी चालकहरु अझ धेरै सास्ती खेप्नु परेको तीतो यर्थाथ सुनाउँछन् ।
चालक भन्छन्–‘ खालि हतियार कहिले सम्म कोरोना संगको युद्ध’ 
संयुक्त एम्बुलेन्स चालक संघ, नेपालका केन्द्रीय सदस्य समेत रहेका विष्णु प्रसाद भट्टाराई पछिल्लो समय डाक्टरले पनि आफुहरुलाई घर परिवार भन्दा टाढा बस्नु भन्ने सुझाव दिएपछि आफूहरु अझ बढि संकटमा परेको बताउँछन् ।  उनले हामी आफ्नो  जीवन दाउमा राखेर कति दिन खालि हतियार युद्ध लड्ने हो ? थाहाँ छैन, त्यसैले राज्यले यस विषयमा गम्भिर भएर आफुहरुको सुरक्षाको लागी विशेष ध्यान दिन जरुरी रहेको बताए ।   
     उनले अहिले दैनिक ५ देखि ८ पटक बुटवल, भैरहवा र भरतपुर धाउनु परेको भन्दै पछिल्लो समय मौसमी विरामी रुघाखोकी, ज्वरो लगायतका लक्षण भएका बिरामी बढि बोक्ने गरेको बताउँछन् । उनले यस किसिमको विरामीहरुलाई अस्पतालले पनि भर्ना नगरेको दुःखेसो समेत सुनाए ।  
उनले बुटवल र कपिलबस्तुका धेरै अस्पतालहरुले यस किसिमका विरामी भर्ना लिन नमानेको जानकारी समेत दिए । ‘दैनिक आजभोली कम्तिमा १ सय देखि २ सय सम्म फोन आउँछ । विश्वभरी नै महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण देश नै लक–डाउन भएको हुनले बढि फोन आउने गरेको छ ।’ उनी बताउँछन् । 
बिरामीलाई अस्पतालमा छिटो छरितो पुग्न एम्बुलेन्स प्रयोग गर्छन् । तर, हामी चालक भने असुरक्षित कति दिन काम गर्ने हो ? सरकारले हामी चालकका लागि आवश्यक मास्क, स्यानिटराइजर जस्ता वस्तुको व्यवस्था छिट्टै गर्नुपर्ने माग समेत गरे ।
    एम्बुलेन्स चालक विष्णु प्रसाद भट्टाराई थप्दै भने, बिरामीलाई अस्पताल पु¥याउने हाम्रो सुरक्षामा सरोकारवालहरुको समेत ध्यान जानु पर्ने वताउछन ।  चालकहरुको सुरक्षाको सामाग्री सरकारले दिन नसकेपनि सहज रुपमा किन्ने बातावरण मिलाउनुपर्ने बताउँछन् । उनले आफुहरुलाई पुरै शरीर ढाक्ने सुरक्षित कपडा (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पिपिई) उपलब्ध हुनुपर्ने जीकिर गरेका छन् । 
‘एम्बुलेन्स चालकहरुलाई जीवन विमा हुनुपर्ने’
संयुक्त एम्बुलेन्स चालक संघ नेपालका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष विष्णु प्रसाद भट्टाराईले सम्पूर्ण एम्बुलेन्स चालकहरुको जीवन विमा सरकारले गर्नुपर्ने माग गरेका छन् । ‘हाम्रो शरिरमा आगो बलिरहेको छ । आगोलाई निभाउने जिम्मा सरकारको हो ।’ उनले भने । उनले बलिरहेको शरिरलाई निभाउनको लागि सम्पूर्ण चालकहरुको अनिवार्य रुपमा जीवन विमा हुनुको साथै छिट्टै नै सुरक्षा सामाग्री राज्यले गर्नुपर्ने माग समेत गरेको छन् ।
     उनले आफुहरुले आफ्नो सुरक्षाको लागी २८ जना एम्बुलेन्स चालकहरू जिल्ला प्रशासनक कार्यालय कपिलबस्तुमा सुरक्षित भएर एम्बुलेन्स चलाउन आवश्यक एन्टी ब्याक्टेरियल स्प्रे र सुरक्षा सामाग्री (मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर) लगायत स्वास्थ्य सामाग्री उपलब्ध गर्नुपर्ने माग समेत गरेको बताए । तर उनले अझै सम्म सरकारी तथा गैह्र सरकारी संस्थाबाट कुनै किसिमको राहत तथा सुरक्षका सामाग्रीहरु नपाएको प्रतिक्रिया दिए । 
        यसरी नै चालक विष्णु प्रसाद भट्टाराई जस्तै बुटवलको मेडिटेक अस्पतालको एम्बुलेन्स चालक राजु गुरुङ्गको पनि उस्तै छ । उनिहरु त केवल प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरुले आफ्नो जीवनलाई दाउमा राखेर विरामीको सेवामा समर्पित छन् । राज्यले विरामीको सहायात्री, मानवताको सेवा गर्ने एम्बुलेन्स चालकहरुलाई विशेष ध्यान दिन जरुरी छ । 
हुन त पछिल्लो समय कोरोनाबाट दिनहुँ हजारौंको संख्यामा विश्वमा मनिसहरुले ज्यान गुमाईरहेका छन् । प्रति दिन लाखौंका दरले नयाँ विरामी थपिएका छन् । छिमेकी देश भारतरमा उच्च दरले कोरोनाका रोगका संक्रमण देखिन थालेको छ ।  नेपालमा पनि कोरोना भाइरसले महामारीको रुप लिने हो कि भन्ने त्रास फैलिएको छ । अहिले पछिल्लो स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्याङ्का अनुसार नेपालमा पनि ९ जना लाई कोरोना संक्रमित पुष्टि भईसकेको छ । त्यसैले लामो समय देखि देशमा पूर्ण रुपले लक डाउन छ । लामो तथा छोटो दूरीका गाडि चल्न छाडेका छन् । तर, एम्बुलेन्स चालक भने जोखिम मोलेर सेवा गर्नुपर्ने उनीहरुको बाध्यता  हो । 
       उनिहरुलाई राज्यले आवश्यक सुरक्षाका सामाग्री मास्क, पन्जा, एप्रोन, गमबुट, सेनिटाइजर र पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट (पिपिई) उपलब्ध गरिदिनु हुन अत्यन्तै आवश्यक छ । यद्यपी एम्बुलेन्स चालकहरु जोखिम पुर्ण काम गर्दा अझ देशमा ठुलो संक्रमण फैलिने खतरा छ । त्यसैले यस विषयमा सरोकारवालाहरु गम्भिर हुनु आवश्यक छ । 

Comment As:

Comment (0)