No icon

आइफोन १३ मा पाँच वटा क्यामरा

२१ जेठ, काठमाडौं । आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले आगामी नोभेम्बर सम्ममा आफ्नो आइफोन १२ सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । एप्पलको उक्त बहुप्रतिक्षित नयाँ संस्करणका आइफोनका विषयमा विभिन्न खाले खुलासाहरु धेरै अगाडि देखि नै सार्वजनिक भैरहेकै छन् । तर आइफोन १२ का विषयमा मात्रै होइन, आगामी वर्ष सन् २०२१ मा एप्पलले बजारमा ल्याउने अनुमान गरिएको आइफोन १३ का विषयका समाचारहरु समेत लिक हुन थालेका छन् । एप्पल कम्पनीका बारेमा विभिन्न गोप्य समाचारहरु खुलासा गर्दै आएको Fudge नामक ट्विटर प्रयोगकर्ताले आइफोन १३ मा हुने क्यामराका विषयमा महत्वपूर्ण खुलासा गरेको छ । उसका अनुसार आइफोन १३ मा एप्पलले खासगरी क्यामरा प्रविधिको सन्दर्भमा व्यापक अपग्रेड गर्नेछ । आइफोन १३ मा पाँचवटा सम्म क्यामरा सेन्सर हुने दाबी उसको छ ।

लिक गरिएको तथ्यअनुसार आइफोन १३ मा हुने पाँचवटा क्यामरा मध्ये एउटा क्यामरा ६४ मेगापिक्सेलको वाइड एंगल क्यामेरा हुनेछ । जसमा १ गुणा अप्टिकल जुम र ६ गुणा डिजिटल जुम क्षमता हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहनेछ भने तेश्रो क्यामरा चाहीँ ६४ मेगापिक्सेलकै एनामोफिर्क लेन्सयुक्त क्यामरा हुनेछ, जुन विशेषगरी भिडियोका लागि प्रयोग हुनेछ । त्यस्तै अर्को क्यामरा ४० मेगापिक्सेलको अल्ट्रा वाइड लेन्सयुक्त र पाँचौ क्यामरा अत्याधुनिक Lidar सेन्सरयुक्त हुनेछ ।यद्यपि एप्पलकै भित्रिया कर्मचारीको ट्विटर ह्याण्डिल ठानिएको उक्त ट्विटरबाट लिक भएको सो जानकारीका विषयमा एप्पलले आधिकारिक रुपमा केही पनि बताएको छैन । एप्पलले आइफोन १२ सिरिजका आइफोन नै नल्याइसकेको अवस्थामा आइफोन १३ का विषयमा अहिले नै अनुमान गर्न गाह्रो हुने कतिपयको तर्क छ ।
 

Comment As:

Comment (0)