
३ भदौ, कपिलबस्तु । थारु समुदायमा आजभोली गुरिया पर्वको रौनक छ । थारु समुदायमा विभिन्न कार्यक्रमगरी धुमधामसंग गुरिया पर्व मनाईरहेका छन् । स्थानिय सरकारले पनि ठाउँ अनुसार भोली गुरीया पर्वमा सर्वजानिक विदा समेत दिएको छ । विशेषगरी गरिया पर्वलाई विभिन्न नामले ठाउँअनुसार मनाउने गरेको पाईन्छ, यसलाई गुड्डी, गुरही, गुडिया आदी नामले विशेषगरी पश्चिमका थारुहरुले धुमधुम मनाउने गरेको पाईन्छ । गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ ।
श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई बाल पर्व का रूपमा मान्दै पहिलो पर्व भएको हुनसक्छ । भाइ बहिनीको माया प्रेमको प्रतिकका रूपमा यस पर्वमा थारु महिलाहरूले गुडिया अर्थात् पुतली बनाउने गर्दछन् भनेँ पुरुषहरूले त्यस गुरियालाई सोँठा, कोर्रा या लट्टीले चलाउँदछन र खेल्छन् । यसरी बालापनमा खेलिने भाँडाकुँडीको झल्को दिने यस पर्वले गुडियासंगै आफ्ना पीडा, रोग व्याध र कष्टहरू जाने विश्वासका साथै भातृत्वको एक मिठो दृष्टान्त उजागर गर्दछ ।
के हो गुरिया पर्व
गुडिया बाट आएको गुरिया सामान्यतया खेल्ने पुतली भनेर पनि बुझ्न सकियो भनेँ गुरही भनेको चाहिँ तराई भेगमा पाइने, खोला या नदी किनार अनि बालीहरूमा देखिने पुतली जस्तो देखिने र उड्न सक्ने किरा हो । पश्चिमी नेपालका कपिलबस्तु, रुपन्देही , दाँङ्ग, बाँके, बर्दिया, कैलाली, कन्चनपुर सम्म यसलाई गुरिया भनिन्छ भनेँ कसै कसैले यसलाई झिंगौरा पनि भन्छन् । मध्यपहाडि भागमा भनेँ यसलाई गाइने किरा पनि भनिन्छ । हेलिकोप्टर जस्तो देखिने र विभिन्न रङ्गहरूमा पाइने भएकाले यस किरालाई हेलिकोप्टर किरा पनि भनिएको पाइयो ।पश्चिमी थारु भाषामा गुरिया भन्नाले मोतीको माला भन्ने अर्थ पनि लाग्दछ पनि तर गुडिया बनाउने पर्व भएकाले यस पर्वको नाम गुडिया बाट नै गुरिया भएको विश्वास गरिएको पाइन्छ ।