
कोरोनाको कारण रुपन्देहीमा थप दुईजना संक्रमितको मृत्यु
५ कात्तिक, बुटवल । कोरोनाको कारण रुपन्देहीमा थप दुईजना संक्रमितको मृत्यु भएको छ । दुवै जना बुटवल उपमहानगरपालिका हुन् । वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो । दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । असोज २४ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ४७ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।