
१ भदौ, हेटौँडा । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको पुष्टि भएको छ । हेटौँडामा गरिएको स्वाव परिक्षणणबाट उपसभामुख तामाङसहित उहाँका नौ वर्षीय छोरामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । साउन १५ गते संघीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक जमघटहरुका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङकी श्रीमान् डिबी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ पुगी साउन २५ गते मात्रै फर्केको थियो । सो क्रममा गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग भेटघाट र छलफल गरिएको उपसभामुखकी श्रीमान् तामाङले जानकारी दिनुभयो । “भेट गरिएका मध्ये एकजना वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएपछि शंका लागेर हामीले पनि स्वाब परीक्षण गरायौँ”, उपसभामुखकी श्रीमान् तामाङले भन्नुभयो–“चालक, पिएसोसहित छजनाको परीक्षणमा आमा छोरामा पोजेटिभ देखियो ।” कोरोना सङ्क्रमण पछि यतिखेर उपसभामुखको परिवार सरकारी निवासमा आराम गरिरहेको छ । चिकित्सकको सल्लाह अनुसार रोग प्रतिरोधी शक्ति बढाउने खानेकुरा र तातोपानीसहित खानपानको व्यवस्थापन गरिएको पारिवारजनले जानकारी दिनुभएको छ ।