No icon

विश्व आत्महत्या रोकथाम दिवस : कोरोनाको संकटपछि आत्महत्याको अवस्था

गोपाल ढकाल मनोविद् । विश्वव्यापी रुपमा नै जटिल समस्या बन्दै गएको छ आत्महत्या । यसकाे रोकथाम तथा जनचेतना अभिवृद्धिकाे उद्देश्यका साथ प्रत्येक वर्षकाे सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइँदै आएको छ । यस वर्ष पनि साेही दिन ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ मूल नाराका साथ यो दिवस मनाइँदैछ । यस वर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक, आर्थिकजस्ता सबै पाटोलाई असर पुर्‍याएको छ । यसले सबै तह, तप्का, उमेर र समुदायका व्यक्तिलाई प्रभाव पारेको छ । यस संकटपछि आत्महत्या गर्नेको संख्या निकै बढ्यो । आत्महत्याको अवस्था भयावह हुँदै भन्नेजस्ता समचार हिजोआज आइरहेका छन् । आत्महत्यालाई कोरोना महामारीले निम्त्याएको संकटसँग मात्र जोडेर समेत हेर्ने गरिएको छ । तर, आत्महत्या अहिलेको मात्र समस्या भने होइन ।

नेपालमा पनि आत्महत्या पहिलेदेखि नै जनस्वास्थ्य क्षेत्रको एउटा ठूलो समस्या र चुनौतीका रूपमा देखापर्दै आएको छ । नेपालमा आत्महत्या गर्नेको दर प्रत्येक वर्ष ८ देखि १० प्रतिशतले वृद्धि हुँदै गइरहेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार यस वर्ष आत्महत्याबाट ज्यान गुमाउनेहरुको कूल संख्या ६,२७९ रहेको छ । यसरी हेर्दा दैनिक १७ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ५,७५४ जना नेपालीले आत्महत्याबाट ज्यान गुमाएका थिए, जुन सरदर दैनिक १६ जना पर्न आउँछ ।

यसरी हुन्छ मलजल

प्रकृतिक विपत्ति पर्दा, रोग–ब्याधि फैलँदा वा अरू कुनै हिसाबले असहज र जोखिमपूर्ण अवस्था सिर्जना हुँदा मानसिक रोग तथा आत्महत्याको दर बढेर जाने जोखिम हुन्छ । यद्यपि आत्महत्या लकडाउनपछिको मात्रै समस्या हो या लकडाउनपछि भयावह भएको छ, पहिले यस्तो थिएन भन्ने बुझाइ सरासर गलत हो । लकडाउनभन्दा पहिले र लकडाउन पछिको तुलना गर्ने हो भने खासै फरक देखिँदैन । तर, बढ्दै जाने संकेतहरु भने देखापर्न थालेका छन् । बालबालिकामा भने यसबीच आत्महत्या गर्ने दर बढेर गएको देखिन्छ । यो दुःखद् पक्ष हो । आत्महत्या एकदमै संवेदनशील विषय हो । आत्महत्याको समचारलाई अतिरञ्जित र सनसनीपूर्ण बनाउनु हुँदैन । यसले समाजमा झनै नकारात्मक असर पुर्‍याउँछ; डिप्रेसनमा रहेका र आत्महत्याको सोच बनाएकाहरुमा आत्महत्या गर्ने आँट बढ्छ; बालबालिकाहरुले त्यसको सिको गर्न सक्छन् ।

आत्महत्या आँकडा

आत्महत्या नेपालको मात्र समस्या पनि होइन, यो विश्वकै साझा समस्या हो । विश्वमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ भने प्रत्येक ३ सेकेन्डमा १ जनाले आत्महत्याको प्रयास गर्दछ । एउटाले आत्महत्या गर्दा अरू पच्चीस व्यक्तिले आत्महत्याको प्रयास गरिसकेका हुन्छन् र धेरै व्यक्तिहरूले आत्महत्या गर्न गम्भीररूपमा सोचेका हुन्छन् । प्रत्येक वर्ष विश्वमा सरदर ८–१० लाख व्यक्तिले आत्महत्याबाट आफ्नो ज्यान गुमाउने गरेका छन् । यो संख्या युद्ध, दैवी प्रकोप, सडक दुर्घटना, महामारीलगायतका कारणहरूबाट हुने मृत्युभन्दा धेरै हो । विश्वमा महिलाको तुलनामा पुरुषहरुले बढी आत्महत्या गर्ने गरेका छन् । तर, आत्महत्याको प्रयास भने पुरुषभन्दा महिलाले बढी गरेको देखिन्छ । प्रायः सबै मानिस दीर्घजीवन चाहन्छन् । मर्नदेखि सबैलाई डर लाग्छ । ‘मर्ने कसैको रहर हुँदैन’ तर किन कोही आत्महत्या गरेर आफ्नो जीवन आफैं समाप्त पार्न खोज्दछ त ? आत्महत्याको अवस्थामा पुगेका बेला व्यक्तिले पक्कै पनि आफ्नो जीवनका सबै ढोकाहरू बन्द भएको देख्छ होला । मर्नुबाहेक अरु कुनै पनि विकल्पहरू भेट्दैन होला । ऊ चरम निराशामा डुबेको हुन सक्छ ।

के हुन् मूल कारण ? को बढी जोखिममा  ?

कसैले आत्महत्या गर्ने अवस्थामा पुग्नुका पछाडि धेरै कारणहरू हुन सक्छन् । आत्महत्याको ९० प्रतिशत कारण भने मानसिक रोग नै भएको पाइन्छ । त्यसमा पनि डिप्रेसन मुख्य हो । क्षणिक आवेगमा आएर निर्णय लिने क्षमता गुमाउदा वा अत्यधिक जाँड–रक्सी, लागू पदार्थको सेवन तथा कडा खालका मानसिक रोग लागेर पनि व्यक्तिले आत्महत्या गर्न सक्छ ।
व्यक्तिले आफ्नो व्यक्तिगत कमजोरीका कारण आत्महत्या गर्ने होइन । आनुवांशिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा अन्य तत्त्वहरूको संयुक्त प्रभावका कारण आत्महत्या हुने गर्दछ । धेरैजतो केसमा आत्महत्याको प्रयास वा आत्महत्यालाई मानसिक रोगको एउटा लक्षणका रूपमा लिनु पर्दछ । जसरी कुनै–कुनै शारीरिक रोगमा केही व्यक्तिहरु उच्च जोखिमा हुन्छन्, त्यसैगरी केही व्यक्तिहरु मानसिक रोग र आत्महत्याका हिसाबले उच्च जोखिममा हुन सक्छन् । मानसिक रोग (डिप्रेसनमा रहेका), कुनै दुखद् घटनाले धेरै प्रभावित भएका, पटक–पटक आत्महत्याको प्रयास गरेका, तनावपूर्ण पेशामा भएका, पारिवारिक झैझगडामा परेका, आर्थिक संकटमा रहेका, बेरोजगार, लागू पदार्थको कुलतमा फसेका आदि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन सक्छ ।

गलत साेच, नकारात्मक परिणाम

मानसिक रोग जोसुकैलाई लाग्न सक्दछ । मानसिक रोग र आत्महत्यालाई हाम्रो समाजले फरकरुपमा लिन्छ, फरक तरिकाले बुझ्छ । मानसिक रोगलाई ‘पूर्वजन्मको पाप’ र ‘अपराध’ ठान्छ अनि ‘देवी–देवता’ वा ‘कुलदेवता बिग्रेको’ ठान्छ । आत्महत्या गर्नेलाई समाजले पानीमरुवा र लाछीको उपमा समेत दिन्छ । आत्महत्या गर्नेको अनुहार हेरियो भने ‘अगति परिन्छ’ भनेर अनुहार लुकाउँदै र नाक खुम्चाउँदै हिँड्नेहरू पनि हाम्रो समाजमा भेटिन्छन् । आत्महत्या गर्नेको परिवारमा अरु व्यक्तिहरूको आउजाउ कम हुने तथा पानी बाराबारसम्म हुने गरेको पनि पाइन्छ । मानसिक रोग तथा आत्महत्याप्रतिको गलत बुझाइ या धारणा र सोचमा परिवर्तन आउनु आवश्यक छ । ‘हरपल मरीमरी बाँच्नुभन्दा त एकै पलमा मर्ने मन लाग्न सक्छ, त्यही पललाई केही बेर त सहेर हेर, फेरि पनि बाँच्ने इच्छा जाग्न सक्छ’– सत्य र स्वरूपराज आचार्यले गाएको यस गीतले भनेझैं दुःख र निराशाको क्षणलाई धैर्य गरेर केहीबेर पर्खने हो भने त्यो पल बितेर जान्छ र आत्महत्याको सोच, निर्णय र विचार परिवर्तन हुन सक्छ; त्यो ‘थोरै समय’ मा आफूले गरेको धैर्यता र अरुबाट प्राप्त सहयोगले जीवन जोगिन सक्छ । तपाईंले कसैलाई गर्नुभएको एक मिनेटको सहयोग वा तपाईंको एक मिनेटको धैर्यता जीवन परिवर्तनका लागि पर्याप्त हुन सक्छ ।
संसार हिजो पनि सुन्दर थियो, आज पनि सुन्दर छ र भोलि पनि सुन्दर नै रहनेछ, मात्र जीवनका घटनाक्रमले यो सुन्दर संसार तुवाँलो लागेजस्तो देखिएको मात्र हो । धैर्य गरियो भने एक दिन त्यो तुवाँलो फाट्छ नै । जीवन परिवर्तनका लागि एक मिनेट नै पर्याप्त छ । जीवन रहे आफूले गरेका सबै गल्तीहरू सच्याउन सकिन्छ, गल्तीको प्रायश्चित गर्न सकिन्छ । तर, आफ्नो अस्तित्व नै नास भएपछि त अमूल्य जीवन त्याग्ने गरी आफैंले गरेको भूललाई प्रायश्चित गर्ने मौका समेत पाइँदैन । आत्महत्या समस्याको समाधान हुँदै होइन र आत्महत्यालाई धेरै हदसम्म रोकथाम गर्न पनि सकिन्छ ।

याे हाे यथार्थता


आत्महत्याको प्रयास वास्तवमा सहयोगका लागि एक प्रकारको चीत्कार नै हो । विशेष अवस्थामा बाहेक एउटा व्यक्तिले एकै पटक आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्नु अगाडि विभिन्न किसिमका लक्षणहरू वा संकेतहरू देखाउने, व्यक्त गर्ने गर्दछ । यस्तो अवस्थामा उसले बेलैमा घरपरिवार, साथीसङ्गी वा विशेषज्ञको सहयोग पाएमा आत्महत्या गर्ने उसको सोच वा प्रयासलाई रोक्न सकिन्छ । खतराको सूचक, जोखिम र सुरक्षाका तत्त्व, स्वहेरचाह आदिको जानकारी भएमा आत्महत्या रोकी जीवनलाई बचाउन सकिन्छ । यसका लागि हामी सबैको थोरै समय र सहकार्यले मात्र पनि धेरै ठूलो सहयोग पुर्‍याउन सक्दछ । यहाँहरुमा पनि कुनै किसिमको मानसिक समस्या, आत्महत्याको सोच वा प्रयासजस्ता समस्या भएमा सहयोगका लागि निर्धक्क फोनमार्फत मनोपरामर्श सेवा लिन सक्नु हुनेछ, जसका लागि फोन नं: ९८१३५२७७३२ चौबीसै घन्टा खुला रहनेछ ।
(लेखक ढकाल मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्ष हुन् )

Comment As:

Comment (0)