
जि.एन. भुसाल
सिङ्गो ब्रम्हाण्डमा पृथ्वी मात्र यस्तो ग्रह हो, जहाँ लाखौ जीवात्मा सहित मानव जीवन सम्भव भएको छ । अन्य ग्रहहरुमा जीवको अस्तित्व अनुत्तरित नै छ । लाखौ बर्षको श्रम र प्रयत्नले पृथ्वीमा अनेकौ चमत्कारीक परिवर्तनहरु भएका छन् । भौतिक विकास, प्रविधिमा आएको परिवर्तन र यिनले मानवीय जीवन शैलीमा देखिएको तिब्र रुपान्तरणलाई सुक्ष्म अध्ययन र बिश्लेषण गर्ने हो भने यि सबै कार्यहरु मानवको श्रमसंग जोडिएको छ । शारिरीक श्रम वा मानसिक श्रम यि दुबैको संयोजनामा मात्र नयाँ श्रृजना, आविस्कार र चमत्कारहरु सभंव भएका हुन् ।
विशाल निर्माणहरु, संसारलाई अचम्मीत पार्ने भिमकाय संरचनाहरु, सुविधा सम्पन्न विशाल शहरहरु, टावरहरु, मानवीय आनन्दका लागि तयार गरिएका बिशाल पार्कहरु, पुर्वाधारहरु, गगनचुम्बी महलहरु आदि सबै श्रम विना सभंव थिएन । विहानको खाँजा, दिउसोको खाना, शरिरमा लगाउने नाना, टाउको ओत्ने छाना, सुविधाका लागि प्रयोग गरिने गाडी, घोडा, झुपडी होस वा आलिशान बंगाला, भब्य होटल तथा रेष्टुरामा पाउने सेवा तथा सुविधा र स्वाादिष्ट परिकारहरु आदि कुनै पनि चिज के श्रम बिना सम्भव छ ?
हाम्रो दैनिकीमा जोडिएका हरेक खुशी र आनन्दमा श्रमको सुगन्ध हुन्छ, कुनै मेहनतकस श्रमीकको लगानी हुन्छ । हामीले प्रयोग उपभोग गरिरहेको बस्तुमा उसको उमगं, उर्जा वा कष्ट र पिडाको मिश्रण हुन्छ । शहर सफा गर्ने स्विपर, निर्माण गर्ने मजदुर, हाम्रो मुक्तिदाता ? भगवानको मुर्ती बनाउने कालीगढ, ईट्टा बनाउने मजदुर, हाम्रो शहर, नहर, जाहाज सबै बनाउने मजदुर, अन्न उत्पादन गर्ने किसान, हरेक बस्तु उत्पादन हुने कारखानामा काम गर्ने मजदुर, प्रत्येक घरको सुख दुखको लागि अहोरात्र खट्ने आमा, दिदी बहिनी, भाउजु वुहारीहरु, परिवारको खुशीको लागि जवानी जमानत राखेर खाडी पस्ने युवा, युवतीहरु आदि सबैको श्रम र पसिनाको प्रतिफलबाट उठेका हाम्रो पारिवारिक र सामाजिक समृद्धिमा श्रमको मुल्य र सम्मान खाशै हुन सकेको छैन । अहिलेको संसारको समग्र उन्नति र समृद्धिको जगमा श्रम यसो भनौ अझ पसिनाको मूल्य अनमोल छ । तर श्रम प्रतिको बुझाई र सामाजिक ब्यबाहार हेर्दा लाग्छ हामी साच्चै मानीवय मूल्य र परस्पर सम्मानको संस्कृतिबाट निकै टाढिएका छौ । म नेता, म हाकीम, म अरुलाई ज्ञान दिने शिक्षक, म पण्डित पुरोहित, म मालिक, म लगानीकर्ता, म पुरुष म सुपरभाईजर, म प्रमुख आदिको आडम्बरपुर्ण सोंचमा सामान्य श्रम गर्ने श्रमीक प्रतिको व्यवहार, बोली भाषा, शैली, उसलाई हेर्ने नजरमै सम्मान र प्रेमपुर्ण व्यवहारको व्यापक खाडल रहेको छ । बिकास र समृद्धिको शिखरमा पुगेका देशहरुमा श्रमप्रतिको सम्मान र मैत्रिभाव साच्चै लोभलाग्दो छ । सबैलाई हेर्ने दृष्टिकोण र व्यवहार समान छ । राष्ट प्रमुख नै किन नहोस सामान्य आफ्ना कामहरु आफै गर्छन र आफ्ना कामदार प्रति आदर र प्रेमपुर्ण व्यवहार गर्छन ।
कामको समयमा शारिरिक होस वा मानसकि श्रम आ–आफ्नो जिम्मेवारी पुरा गर्छन तर काम कै आधारमा विभेदपुर्ण व्यवहार गर्दैनन् । सायद यहि शैलीका कारण आज उनिहरु समृद्धिको शिखरमा छन् । तर जिम्मेवारीको दर्जाअनुसार बोल्ने भाषा, शैली, हेर्ने नजर र हाउ भाउ समेत फरक हुने हाम्रो संस्कृतिले श्रमको अवमुल्यन गरेको आभास हुन्छ ।हामी किन कुन कर्मको फलले आज यस्तो विभेदपुर्ण व्यवाहार गर्नमै आनन्दित छौं । राष्ट्र प्रमुख देखि उच्च पदस्थ जसले आम जनतालाई जे सन्देश दिनु पथ्र्यो दिन सकिरहेका छैनौ ।
आज हामी समृद्धिको कुरा उठाईरहेका छौ । सामाजिक रुपान्तरण जहाँ सद्भाव र परस्पर सम्मान जरुरी हुन्छ, जहाँ मेहनतकस श्रमीक जसले समृद्धिको जगमा रगत, पसिना, समय, जवानी र जीवन उर्जा लगानी गर्छन, जहाँ ईमान्दारीपुर्ण श्रम लगानी जरुरी छ त्यसकारण श्रमको सम्मान, समादार र सुरक्षाको बन्दोबस्त गर्न सकेनौ भने भौतिक रुपमा प्राप्त समृद्धि खोक्रो हुन्छ । भवन, पार्क, उपकरण, सडक आदि त भव्य बन्लान तर ति सबै निर्माण गरिरहदा श्रमिकको सम्मान, कदर, व्यवहार र उ आफैमा उत्साहित र सकारात्मक भएर गरेको श्रमबाट निर्मित संरचनामा प्राप्त हुने आनन्द धेरै गुणा बढि हुन्छ, हामी त्यो आन्दबाट बन्चीत हुन्छौं । जस्ले मन्दिर,मुर्ति, महल बनाउछ बनी सके पछि त्यहि पुज्न र भित्र छिर्न पनि नपाउने संस्कृतिले हाम्रो सामाजिक समृद्धिको सपनामा प्रश्न खडा गरेका छ । समृद्धिको सपना देख्नेहरुले पहिला आफ्नो बिचारमा बैचारिक समृद्धिको बिजारोपण गरौ । श्रमको मुल्यमा जुरुक्क उठेको विश्व सभ्यातामा हामी किन उठ्न सकेनौ ?
नेपालको संविधानले श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा समेत व्यवस्था गरेको छ । प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यास हुने व्यवस्था गरिएको छ । श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षा हकको व्यवस्था गरिएको छ । साथै ट्रेड युनियन खोल्ने आफ्नो हित रक्षाका निमित्त सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हक प्रत्याभूत गरिएको छ । श्रम ऐन र सामाजिक सुरक्षा ऐन बनेको छ ।
यसले समग्र क्षेत्रलाई समेटेको छ र श्रमक्षेत्रको सुधारका लागि नयाँ फड्को बनेको छ । ऐनले सबै कामदारलाई काम गरेदेखि नै सामाजिक सुरक्षाको व्यवस्था गरेको छ । अब मुलुकभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्नु र श्रमिक तथा कामदारको हकहित र अधिकार संरक्षण गर्नु तथा उनीहरूको पेशागत र सामाजिक सुरक्षा सुनिश्चित गर्नु अहिलेको आवश्यक्ता हो । अब श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आवश्यक छ नै, श्रमको सम्मान र श्रमिकको सुरक्षा उत्पादकत्व र आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध गाँसिएको विषय भएकाले यसमा हुने सुधारले श्रमिकको सामाजिक र आर्थिकस्तरमा सुधार ल्याउँनु अपरिहर्य छ । यि सम्पूर्ण अभ्यासहरु पालन गर्दै गयौं भने नेपाल एक दशक भित्र विश्वकै नमुना एंवम समृद्धि राष्ट्रको रुपमा परिचित हुनेमा कुनै दुईमत छैन ।
यसकारण श्रमको सम्मान गर्न सिकौं । नयाँ आयामको सुरुवात गरौं । संसारका सबै कामहरु बराबर र एक अर्काका परिपुरक छन् । कुनै पनि काम सानो र ठुलो हुँदैन । त्यसैले सबै प्रकारका श्रम गर्नेहरु प्रति अब हामी समादार, समान व्यवहार, प्रेमपूर्ण व्यवहारको अभ्यास गरौं । हाम्रो समृद्धिको सपना पुरा हुनेछ ।