
विपुल पोख्रेल । बिपी कोइरालाका दुइ भनाइ– जो सधैँ चर्चामा पनि रहे र जसलाई सधैँ विवादित बनाउन एउटा पक्ष लागि पनि रह्यो, आज पनि अत्यन्त सान्दर्भिक छन् । ‘राजा र मेरो घाँटी जोडिएको छ’ र ‘पञ्चहरू काङ्ग्रेससँग नतर्स, काङ्ग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने बिपीको तत्कालीन समयलाई दिशाबोध गर्ने भनाइ अहिलेको अवस्थामा पनि मननीय छन् । समकालीन राजनीतिको विश्लेषणका आधारमा बिपीले व्यक्त गरेका यी भनाइको मर्म बुझ्दै त्यसको गहनतामा पुगेर आत्मबोध गर्न सक्यौँ भने हामीलाई अहिलेको अवस्थामा निकासको मार्ग पहिल्याउन मद्दत गर्ने विश्वास गर्न सकिन्छ ।
बिपीको राजनीतिको विशेषता भनेको नागरिक अधिकार, राष्ट्रियता र आर्थिक, सामाजिक समानता नै हो । यो त्रिवेणीभन्दा बाहिर गएर बिपीले कुनै निर्णय गरेनन्, कुनै सम्झौता गरेनन् र यसका पक्षमा जस्तोसुकै जोखिममा पनि दृढतासाथ उभिए । एकपटक बिपीलाई सोधियो, ‘तपाईंको यो लोकप्रियताको कारण के हो भन्ने लाग्छ ?’ बिपीले सङ्क्षिप्त जवाफ दिँदै भनेका थिए कि– ‘मैले राष्ट्रियताको चुरो पकडेको छु, सायद त्यसैले होला ।’ २०३३ सालमा देशमा सङ्घर्ष पनि उठ्न नसकेको अवस्था, संवाद पनि बन्द भएको अवस्था, राजनीतिक सङ्गठन (प्रशिक्षणजस्ता कार्यक्रमका साथ जनतामा पुग्ने क्रम) पनि कमजोर भएको अवस्थामात्र होइन, दक्षिण एसियाकै राजनीति षडयन्त्र र हस्तक्षेपका आधारमा अगाडि बढिरहेको सन्दर्भको विश्लेषण गर्दै नेपालको राष्ट्रियता खतरामा पर्ने र जनपक्षीय राजनीति कमजोर हुने देखेर बिपी कोइराला नेपाल फर्किए । मेलमिलापको नीतिका साथ फर्किएका उनले त्यो नीतिको व्याख्या गर्ने क्रममा भनेका थिए– ‘राष्ट्रियताका सवालमा राजाको घाँटी र मेरो घाँटी एकै ठाउँमा छ ।’ यो उनको भनाइलाई कम्युनिस्टहरूले अत्यन्त विवादास्पद बनाउन खोजे । यही भनाइको आलोचना गर्दै पार्टी प्रशिक्षणहरू समेत सञ्चालन गरे । (हरेक कुराको नकारात्मक प्रचार मात्र गरेर नेपाली मानसिकतालाई नै नकारात्मक बनाउने नेपाली कम्युनिस्ट स्कुलिङका लागि बिपीको यो भनाइ एउटा अश्त्र नै हुन पुग्यो ।) तर, बिपीको त्यो भनाइको मर्म बुझ्ने कोसिस उनीहरूले गरेनन्, त्यो भनाइको गहनता खोज्ने प्रयास गरेनन् र त्यो भनाइले नेपालको राष्ट्रिय एकताको ढोका खुला गरेको ऐतिहासिक परिवेशलाई बुझ्नै सकेनन् वा चाहेनन् । ¬तर अहिले उनीहरू पनि क्रमशः राष्ट्रिय एकताको ढोका खोल्न बिपीको मेलमिलापको नीति र उनको राजासँग घाँटी जोडिएको विश्लेषणसँग सहमत देखिँदै छन् ।
देश रह्यो भने आन्तरिक प्रतिस्पर्धा गर्ने हो । घरेलु शक्तिहरूबीचको प्रतिस्पर्धा भनेको देशलाई समृद्धिको मार्गमा लैजाने कार्यक्रम कसले राम्रो ल्याउने भन्ने कुरामा हो, नागरिकको अधिकार कसरी सुनिश्चित र उपयोगी बनाउन सकिन्छ भन्ने कुरामा हो, राज्य प्रदत्त सेवा सुविधामा कसरी समान पहुँच स्थापित गर्न सकिन्छ भन्ने कुरामा हो । त्यस्तै राज्य सञ्चालनमा पिछडिएका, सीमान्तकृत नागरिकको सहभागिताको सुनिश्चितता कसरी गर्ने भन्ने कुरामा हो । यी कुरामा सधैँ प्रतिस्पर्धा गर्दै राम्रो नीति वा कार्यक्रमलाई जनअनुमोदित गरी लागू गर्ने अभ्यास नै बहुदलीय लोकतान्त्रिक अभ्यास हो । यो प्रक्रियामा हुने प्रतिस्पर्धाको प्रतिक्रियास्वरूप वा आवेगमा आएर राष्ट्रिय हितको विषयमा पनि एकठाउँमा उभिन नसक्नु भनेको अलोकतान्त्रिक र सर्वसत्तावादी चिन्तन हो । बिपीले आफूलाई धेरै अप्ठ्यारा परिस्थितिमा सफल लोकतान्त्रिक चरित्रसहितको व्यक्तिका रूपमा स्थापित गराएका छन् । देश डुब्नै लाग्दा, नेपालको नक्सा नै नरहने अवस्था सिर्जना हुन लाग्दा उनले ‘मलाई थुनेर अपदस्त गर्ने राजा वा राजसंस्थासँग मेलमिलाप गर्दिनँ’ भनेर अड्डी लिएको भए नेपाल सिक्किम हुने अवस्थामा उन्मुख हुने थियो । त्यो ‘व्यक्तिगत इगो’ लाई तिलाञ्जली दिएर राष्ट्रियताका लागि र देशभित्र आफ्नो उपस्थितिसँगै जनपक्षीय राजनीतिमा आउने उत्साहका लागि बिपीले राजासँग घाटी जोडिएको अभिव्यक्ति दिएर अप्ठ्यारो परिस्थितिमा नेपालका घरेलु शक्तिहरू एकैठाउँमा उभिन्छन् भन्ने स्पष्ट सन्देश विश्वसामु दिन सफल भएका हुन् ।
अहिले पनि देशभित्रका घरेलु शक्तिबीचमा बलियो एकता बन्न सकिरहेको छैन । राष्ट्रिय हितहरूमा सबै एकैठाउँमा उभिन सकिरहेका छैनन् । आफ्नो स्वार्थ प्राप्तिका लागि छिमेकी मुलुकहरूमा बिन्ती चढाउने संस्कृति विद्यमान छ । नेपाली एकता, नेपाली स्वाभिमान, नेपाली अखण्डता, नेपाली सद्भाव र नेपाली सहनशीलतालाई बिथोलेर अराजक अवस्था सिर्जना गरी त्यही अराजकताका बीचबाट आफ्नो लाभ देख्ने संस्कृति व्याप्त छ । यो संस्कृतिले राष्ट्रिय एकतालाई खण्डित गर्ने काम मात्र गर्ने छ । यतिबेला बिपीले राजासँग घाटी जोडिएको अभिव्यक्ति दिएर त्यतिबेलाको बलियो घरेलु शक्तिसँग राष्ट्रिय एकताका सवालमा आफ्नो घाँटी जोडिएको भनेझैँ अहिलेका मुख्य घरेलु शक्तिहरूबीच पनि न्यूनतम सहमति कायम गरी सङ्क्रमणकालको अन्त्य गरी आन्तरिक प्रतिस्पर्धाको परिस्थिति निर्माण गर्न सबै गम्भीर हुन आवश्यक छ । राष्ट्रिय एकताको पक्षमा एक हुने र एक गराउने दुवै भूमिका ठूला शक्तिहरूले निर्वाह गर्न सक्नुपर्छ । बिपीको १०१औँ जयन्ती मनाइरहँदा हामीले राष्ट्रिय एकताको पक्षमा उभिने प्रण गर्यौँ भने त्यो सार्थक हुने छ । ‘राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी जोडिएको छ’ भन्दै नेपाल नरहे तिमी कहाँको राजा र म कहाँको नागरिक ? भन्ने प्रश्न उब्जाएर देश बचाउने अभियानमा तत्कालीन बलियो शक्तिलाई राष्ट्रियताको विषयमा गम्भीर हुन ‘प्रेरित’ गर्ने बिपीको त्यो अभिव्यक्ति अहिलेका ठूला र बलिया शक्तिलाई ‘प्रेरित’ गर्न पनि उत्तिकै महत्वपूर्ण छ ।
त्यसैगरी बिपीको ‘पञ्चहरू काङ्ग्रेससँग नतर्स, काङ्ग्रेसहरू पञ्चहरूसँग नझस्क’ भन्ने भनाइको मर्म पनि यो बेलामा सबैका लागि अनुकरणीय हुन पुगेको छ । पञ्चायतसँग बिपी मिल्न लागेको भनेर प्रचार गर्नेहरूले यो अभिव्यक्तिको पनि अपव्याख्या गर्दै देशभर नै प्रशिक्षण चलाए । २०३७ सालको जनमत सङ्ग्रहपछि बिपीले व्यक्त गरेको यो अभिव्यक्तिको अर्थ भनेको राजनीतिमा हुने विचारको लडाइँलाई व्यक्तिगत झगडा बनाएर देशका नागरिकका बीचमा लडामाती नहोस् भन्ने नै हो । जनमत सङ्ग्रहमा निलो र पहेँलोमा भोट हालेका आधारमा नेपाली जनताका बीचमा कुनै कलह नहोस् र आपसी सौहाद्र्रता एवं सामाजिक सद्भाव नबिथोलियोस् भन्ने कुरामा जिम्मेवार भएर बिपीले गरेको अपिल हो त्यो । विचारको लडाइँको प्रतिनिधित्व नेतृत्वले गर्ने हो । त्यो विचारको बलमा नेतृत्वले कार्यक्रम दिने हो । त्यो विचार र कार्यक्रममा सहमत नागरिकले त्यो नेतृत्वलाईृ पृष्ठपोषण गर्ने हो । यो प्रक्रियामा एउटै समाजमा बसेका नागरिक–नागरिक बीच कलह हुनुहुँदैन, झैझगडा हुनु हँुदैन र सामाजिक बहिष्करणको मारमा कोही नेपाली नागरिक पर्नु हुँदैन भन्ने सन्देश प्रवाहित गर्न बिपीले त्यो अभिव्यक्ति दिएका हुन् ।
निलोमा भोट हाल्ने पनि र पहेँलोमा भोट हाल्ने पनि नेपाली नै हुन्, उनीहरू आपसमा कलह गर्नु हुँदैन । निरङ्कुशताको स्रोतमा प्रहार गर्ने हो, नागरिक–नागरिकबीच कलह गर्ने होइन, भन्ने अपिलका साथ बिपीले व्यक्त गरेको सो अभिव्यक्तिलाई विवादित बनाउनेहरूले रोपेको बिउले नै अहिले सामाजिक सद्भाव र जनस्तरको एकतामा समेत समस्या पैदा गर्न थालेको छ । बिपीले त्यतिबेला काङ्ग्रेस र पञ्चका कार्यकर्ताबीच लडाइँको आगो सल्काउन सक्थे र त्यसरी जन्मेको हिंसाको अवस्थामा आफ्नो राजनीतिक लाभ खोज्ने बाटो पनि रोज्न सक्थे । तर उनले त्यसो गरेनन्, आफ्नो स्वार्थ राष्ट्रिय एकता र नेपाली सद्भाव भन्दा ठूलो कुरा होइन भन्ने कुरामा उनी स्पष्ट रहे, सधैँ स्पष्ट देखिए । जातिका नाममा, भूगोलका नाममा नेपाली नेपालीलाई लडाउने काम बन्द गरी देशमा सद्भाव र बलियो एकता निर्माण गर्नका लागि बिपीको त्यो अभिव्यक्तिलाई सकारात्मक रूपमा ग्रहण गर्न सक्नुपर्छ । यसो गरियो भने मात्र बिपीको स्मरण गरेको र उनको शालिक वा फोटोमा माल्यार्पण गरेको अर्थ रहन्छ । अहिले मुलुक संविधान निर्माण र सङ्घीयताको उचित व्यवस्थापनको महत्वपूर्ण घडिमा उभिएको छ । यो चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउँदै निर्णयमा पुग्नुपर्ने हुन्छ ।
राष्ट्रिय एकतालाई कमजोर पारेर र सामाजिक सद्भावलाई नजरअन्दाज गरेर अगाडि बढ्ने हो भने उल्लिखित महत्वपूर्ण दायित्व निर्वाह गर्न समाकालीन राजनीतिक नेतृत्व पूर्णरूपमा असफल सिद्ध हुने छ । सिङ्गो नेपालले बिपी जयन्ती मनाइरहँदा बिपीका कालजयी विचार र सन्देशहरू ग्रहण गर्दै यो मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनताको अधिकार एवं स्वाभिमानलाई केन्द्रबिन्दुमा राखेर निर्णयमा पुग्न समकालीन राजनीतिक नेतृत्वलार्ई प्रेरणा प्राप्त हुने विश्वास गरौँ । यो प्रेरणा ग्रहण गर्न नसक्ने नेतृत्वबाट मुलुकको कल्याण हुने छैन, मुलुकलाई सही दिशा प्राप्त हुने छैन र नागरिक अधिकार एवं स्वाभिमान कमजोर हुँदै देश अराजकताको बाटोतर्फ लाग्ने छ । सबैले गम्भीरतासाथ मनन् गरौँ । (बिपी अध्येता पाेख्रेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष हुन् । साभारः कोसी अनलाइन डटकम)