
कमल चौधरी २० असार, कपिलबस्तु । बाणगंगा नगरपालिका ८ बोडगाउँ निवासी लक्ष्मी सारु मगर विगत एक दशक देखि ढाकाको कपडा बुन्दै आईराख्नुभएको छ । उहाँ वि.स. २०६५ सालमा ढाकाको कपडा बनाउन सुरु गर्नुभएको हो । उहाँ अहिले ढाकाको कपडा बनाउने मात्र नभएर देशका विभिन्न स्थानहरुमा ढाका कपडा बुन्ने तालिम समेत सिकाउँदै आईराख्नुभएको छ । साथै उहाँले आफ्नो ढाका व्यवसायलाई व्यवासयीक रुपमा लैजानको लागि वि.स. २०७३ सालमा दर्ता गरेको जानकारी दिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘तत्कालिन जनयुद्धको समयतिर हाम्रो मगर संघको छैठौं महाधिवेशन कैलालीमा भैरहेको थियो । म पनि मगर संघमा क्रियाशिल भएको कारण महाधिवेशनमा पुग्ने अवसर जुरेको थियो । त्यही क्रममा तनहुँका साथीहरुले मगर संघको महाधिवेशनमा ढाकाका कपडाहरुको स्टलहरु राख्नुभएको थियो । त्यो देखेर नै म यस व्यवसायी तिर प्रेरणीत भएको हो ।’ उहाँले भन्नुभयो, ‘आफैले कपडाहरु उत्पादन गरेर विभिन्न किसिमका पहिरनका समाग्रीहरु बनाएर बेच्न सकियो भने रोजगारी पनि हुने र हाम्रो मगर समुदायको संस्कृति पहिरनहरुको संरक्षण पनि हुने उद्देश्यले नै ढाका व्यवसायी सुरु गरेको हो अहिले धेरै राम्रो छ ।’ उहाँले आफुले सोचे अनुसार विभिन्न साथीहरुको सहयोग तनहुँ साथीहरु र नवलपरासीका उद्यामी विष्णु चौधरी सर लगायतले ढाका व्यवसाय सुरु गर्ने क्रममा धेरै सहयोग गरेको संझिनुभयो । जुन सुकै काम गर्न रुची, लगनशिल भएर ग¥यौं भने सफलता प्राप्त गर्न सकिने उद्यामी लक्ष्मी सारुको भनाई छ ।
उहाँले आफ्नो यस ढाका व्यवसायमा सुरु देखि नै रुची भएको कारणले आफु यस व्यवसायमा सफल भएको बताउँदै उहाँले भन्नुभयो, ‘यस व्यवसाय ढाका कपडा बनाउने सुरु गर्दा यहाँ मगर महिला समुहका सथाीहरुसंग सल्लाह गरेर सुरु गरेको हो । सुरुमा साथीहरुले ३२ हजार सहयोग गर्नुभएको थियो र आफुले ७० हजार गरी कुल १ लाख २ हजारको लगानीबाट सुरु गरेको हो । अहिले नियमित रुपमा ७ जनालाई रोजगारी दिन सफल भएको छु । उत्पादन भएका समाग्रीहरु आफ्नै लक्ष्मी ढाका एण्ड कल्चरल डे«स पसल छ । त्यहाँबाट पनि विक्रि वितरण पनि हुन्छ ।’ उहाँ भन्नुहुन्छ, ‘यस व्यवसायीबाट आम्दानी यति नै हुँन्छ भन्ने हुँदैन बजार अनुसार हाम्रो आम्दानी धेरै थोरै हुन्छ । जे होस् हामीहरु सन्तुष्टि छौं । घर खर्च चलाउन, छोरा छोरी पढाउनको साथै केही बचत गर्न पनि पुगेको छ ।’ महिला दिदी बहिनीहरु पनि रोजगारी पाउँनुभएको छ । उहाँहरु पनि खुसी हुनुहुन्छ । उहाँले आफुले मात्र उद्यामी नभएर मैले सिकेका सिपहरुलाई धेरै दिदी बहिनीहरुलाई तालिम दिएको बताउँदै आफुले तालिम दिएको दिदी बहिनीले राम्रो गर्दै जाँदा आफुलाई पनि धेरै खुसी मिलेको अनुभव सुनाउनुभयो ।
समाजसेवी एवं नेपाल मगर संघका केन्द्रीय सदस्य समेत रहनुभएका लक्ष्मी सारु मगर अहिले एउटा सफल उद्यामी रुपमा जिल्लामा नै परिचित हुनुहुन्छ । उहाँले ढाकाका विभिन्न किसिमका कपडाहरु बनाउनुहुन्छ । उहाँले मगर समुदायको पहिचान झल्कीने पहिरनहरु भाग्रा, कछाड, सल, पछ्उरी, ढाका टोपी बनाउनुको साथै साडी, सट, सुट, कोटका कपडा, झोला इत्यादि उत्पादन गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले उत्पादन गरेका कपडा, समाग्रीहरु कपिलबस्तुका विभिन्न महोत्सव, बुटवल महोत्सव तथा विभिन्न आदिवासी जनजाति समुदायका कार्यक्रममा समेत स्टल राखेर विक्रि गर्दै आएका छौं ।’थुप्रै संघ संस्थामा आवद्ध भएर समाजिक काममा पनि उतिकै क्रियाशिल सारु मगर एउटा राम्रो ढाका प्रशिक्षक पनि हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हराउदै गएको मगर समुदायको भेषभुषा, पहिरनहरुलाई हामीले केही हदसम्मा संरक्षण गरेका छौं । साथै यस ढाका तान बुन्ने तालिम म आफै थुप्रै ठाउँमा पुगेर दिदै आएको छु ।’
अहिले उहाँ कपिलबस्तु, रुपन्देही, पाल्पा, गुल्मी लगायत देशका विभिन्न स्थानमा पुगेर ढाका कपडा बुन्ने तालिम दिदै आईराख्नुभएको छ । उहाँले करिब ३ देखि ४ सय सम्म दिदी बहिनीहरुलाई तालिम दिइसकेको बताउँनुभयो । यसरी ढाका कपडा उद्योग संचालन गर्ने उद्यामी सारु मगर जिल्लामा नै नमुना उद्यामी तथा प्रशिक्षक भएकै कारण जिल्लाका थुप्रै सरकारी तथा गै्रह–सरकारी संस्थाहरुबाट सम्मानित समेत हुनुभएको छ ।
हुन त अझै पनि हाम्रो समाजमा महिलाहरुलाई त्यति स्वतन्तता छैन । पुरुषलाई भन्दा महिलाहरुलाई हेर्ने दृष्टिकोण फरक छ । कतिपय महिलाहरुले आफुले चाहेको पेशामा संलग्न हुन पाउँदैनन् । यति हुँदा हुँदै चुनौतीका बाबजुट पनि सारु मगर एउटा राम्रो उदाहरणीय पात्र बन्न सफल हुनुभएको छ । उहाँको उदाहरणीय कामको हामी सवैले सिको गर्न जरुरी छ । स्थानिय निकायले पनि उद्यामी सारु मगर जस्तै महिलाहरुलाई व्यवसायमा प्रेणित गर्न समय समयमा सहयोग तथा प्रोत्सहन गर्न आवश्यक छ ।