No icon

तनाव र यसको व्यवस्थापन !

स्वामी आनन्द अरुण । तनाव वर्तमान युगको जटिल समस्या हो । वैज्ञानिक विकासको सहयोगले जुन–जुन देशमा जीवनशैली जति–जति परिवर्तन भइरहेको छ ।  त्यति–त्यति नै त्यहाँका मानिस अत्यधिक तनावमा बाँच्न बाध्य भइरहेका छन् । सन् २ हजार मा गरिएको सर्वेक्षणमा युरोप र अमेरिकामा ७३ प्रतिशत प्रोफेसनलहरू अति तनावग्रस्त अवस्थामा कार्यरत थिए, जुन संख्या १९८३ मा ५५ प्रतिशतमात्र थियो । तनाव पीडितहरूले प्रत्येक वर्ष ३ अर्ब डलरको औषधी खाइरहेका छन् । अत्यधिक तनावका कारण उत्पन्न समस्याबाट प्रत्येक वर्ष व्यावसायिक संसारलाई ३ सय अर्ब डलर घाटा हुन्छ । प्रत्येक वर्ष तनाव व्यवस्थापनसँग सम्बन्धित २ हजार पुस्तक छापिन्छन् र लगभग १ अर्ब डलर बराबरको बिक्री वितरण हुन्छ ।

मनुष्यको संगतले घरपालुवा जनावरहरू पनि तनावग्रस्त हुन थालेका छन् । आज अमेरिकामा भेलियम, प्रोज्याक र अन्य तनाव विसर्जन गर्ने औषधी जनावर लाई पनि दिन थालिएको छ । एक अमेरिकी घरपालुवा कुकुरलाई तनावरहित बनाउन प्रत्येक महिना दिइने औषधीको खर्च १ सय डलर भएको तथ्याङ्क छ । तनाव सधै नकारात्मक भने हुँदैन । एक हदसम्मको तनावले सजगता, प्रेरणा र कार्यदक्षता दिन्छ तर त्यो सीमा नाघ्नासाथ तनावले अनेक प्रकारका शारीरिक, मानसिक र भावनात्मक समस्या खडा गरिदिन्छ । हाम्रो जस्तो अविकसित देशमा पर्याप्त चुनौती र प्रतिस्पर्धा नहुनु, कार्य सम्पादनको गुणवत्ताको कुनै मापदण्ड नहुनु, निश्चित लक्ष्यसम्म पुग्न निश्चित समय सीमा निर्धारण नहनुले पनि मानिस अल्छी, लोसे र अप्रत्युत्पादक भएको देखिएको छ । उचित तनाव र प्रतिस्पर्धा नहुँदा हुने दुर्दशाको राम्रो उदाहरण सरकारका पूर्ण स्वामित्व भएका हाम्रा संस्थान र सरकारी कार्यालयहरू हुन् ।
तनाव के हो ?
कनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक अस्विधा पैदा गर्छ त्यसलाई तनाव भनिन्छ । तनाव परिस्थितिसँग कम तर त्यसप्रतिको हाम्रो प्रतिक्रियासँग बढी सम्बन्धित छ । एउटै परिस्थितिमा एक व्यक्ति अति तनावग्रस्त हुन सक्छ तर अर्को व्यक्ति शान्त भएर कुशलतापर्वक कार्य गर्न सक्छ । त्यसकारण तनाव परिस्थितिजन्य कम र व्यक्तिपरक बढी हो । बाहय परिस्थिति पूर्णतः हामीले चाहेजस्तो अनुकूल कहिल्यै पनि बन्न सक्दैन तर त्यसप्रतिको प्रतिक्रिया हाम्रो हातमा हुन्छ र तनाव व्यवस्थापनको यही नै मुख्य सूत्र हो ।
तनाव पैदा हुने प्रमुख कारणहरू
मनुष्यको जीवेषणा हरेक परिस्थितिमा बाँच्न चाहने हुन्छ । आफ्ना ज्यान माथिको खतरा, कतैबाट आक्रमण हुने डर र अस्वस्थता तथा असुरक्षाका कारण मानिस तनावग्रस्त रहन्छ । आर्थिक सुरक्षा मानिसको ठूलो समस्या हो । पारिवारिक आर्थिक आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्था भएमा पनि तनाव हुन्छ ।
महत्वाकाङ्क्क्षा तनावको अर्को ठूलो कारण हो । अति महत्वाकाङ्क्क्षीहरू तनावकै कारण अनेक शारीरिक तथा मानसिक रोगबाट ग्रसित रहन्छन् ।
वरिपरिको वातावरणले पनि तनाव उत्पन्न गर्न सक्छ । हल्ला, साँघुरो ठाउँ, दुषित स्थान, भीडभाड, सधैं हुने दङ्गाले पनि तनाव हुन्छ । यो शहरी जीवनको एक अनिवार्य अभिशाप बनिसकेको छ । रसायनहरूको प्रयोगले पनि तनाव हन्छ । क्याफिन, सगर, अति नुनिलो खाना, धुमपान, लागूपदार्थ इत्यादिको सेवनले पनि तनाव उत्पन्न हुन्छ । यिनीहरूले केही क्षणका लागि फुर्तीको सञ्चार गराए पनि पछि शरीरभित्र रासायनिक तनावको स्थिति सिर्जना गर्छन् । बदलिँदो सामाजिक परिवेशमा हुने पारिवारिक विखण्डन र असमझदारी पनि तनावको ठूलो कारण हो ।
काम गर्ने परिवेशमा भनसुन, सोर्स, सिफारिस, नातावाद, राजनैतिक पूर्वाग्रह र भ्रष्टाचारले गरिखाने मान्छेलाई तनावग्रस्त बनाइराखेको छ ।
तनावका लक्षणहरू
अनिद्रा, थकान, छिटै निद्रा खुल्नु, दाँत किट्नु, कम खानु या बढी खानु, लागू पदार्थको अतिसेवन, दुर्व्यसन, उच्च रक्तचाप, पेटको अल्सर, ग्यास्ट्रिक, महिनाबारी समस्या, ह्दयरोग, चिडचिडापन, नङ टोक्ने, आफ्नो लबाइ, हिँडाइमा ध्यान नदिने, एकाग्र हुन नसक्ने, गम्भीर रहने, अति बोल्ने, अकारण भय हुने तनावले निम्त्याउने मुख्य लक्षणहरू हुन् ।
तनाव व्यवस्थापनका उपायहरू
तनाव व्यवस्थापन यस युगको अनिवार्यता भएर आएको छ । यससम्बन्धी धेरै अध्ययन, सभा सेमिनार, प्रयोग र साहित्य सिर्जना भइरहेको छ । साधारणतः तनाव तथा नैराश्य हटाउन विभिन्न प्रकारका औषधी बजारमा प्रचलित छन्, जस्तै स् ट्राइजेपाम टियाजोलाम, हेलोपेरिडोल इत्यादि । यी सबैको साइड इफेक्ट हुन्छ र अलिकति मात्रा फरक परेमा यो प्राणघातक पनि हुन सक्छ । लत लागे यिनीहरूलाई छोड्नु हासिस छोडनुभन्दा गाह्रो हुन्छ ।
जीवनशैलीमा परिवर्तन नै तनाव विसर्जनको एकमात्र निरापद उपाय हो । यसका लागि केही सुझावहरू यहाँ प्रस्तुत गरिएका छन् ।
१. प्राकृतिक आहारविहार, फलफूल, सादा शाकाहारी भोजन गर्ने, गलिया र अति नुनिलो चिज नखाने, क्याफिन तथा बोतलबन्द पेयपदार्थ, फास्टफड । जङ्कफुड नखाने, धूमपान, मद्यपानबाट बच्ने ।
२. एकमात्र शुद्ध पेयपदार्थ सादा पानी नै हो । त्यसका अरू विकल्प जस्तो। कोक, फेन्टा, पेप्सी, बियर इत्यादिले तनावलाई घटाउने जस्तो देखिए पनि अन्ततः तनाव बढाउँछन् । प्रतिदिन ३ देखि ५ लिटरसम्म सफा पानी पिउन आवश्यक छ ।
३. चिया, कफीले पनि स्वस्थ निद्रामा बाधा गर्छ, ह्दय र नाडीको गति बढाउँछ र अन्ततः तनाव वृद्धिमा सहायक बन्छ । कागती पानी या जडीबटीको चिया राम्रो विकल्प हो । 
४. दैनिक ७ घण्टाको निद्रा आवश्यक हुन्छ । छिटो सुत्नु र छिटै उठ्नु सर्वमान्य कुरा हो।
५. आफूलाई भौतिक, मानसिक कुराहरूमा प्रतिकूल असर पार्ने कतिपय कुराहरूको संलग्नताप्रति दृढतापूर्ण नाइँ भन्न सिक्ने ।
६. ध्यान र योगाभ्यास तनाव विसर्जनमा सर्वाधिक लाभदायक हुन्छन् । नियमित ध्यानले अति तनावग्रस्त परिस्थितिमा पनि शान्त र विधायक रहन सक्ने समझ र धैर्यको विकास हुन्छ । त्यसकारण ध्यान र योगाभ्यासले आज डाक्टरहरूको प्रेस्किप्सनमा पनि ठाउँ बनाइसकेका छन् ।
७. ओशोले हास्य, नृत्य, योग, ध्यान र प्रेमलाई तनाव विसर्जन गर्ने महाऔषधि मान्नुभएको छ । योग र ध्यान धेरै प्रचलित भएकाले यसका नाममा बजारमा चलेका मान्यताहरू सबै वैज्ञानिक छैनन् । प्रेम भन्नासाथ हाम्रो मनले यौन बझ्छ । सम्यक् यौन पनि तनाव विसर्जनमा सहायक हने चिकित्सकहरूका राय छ तर असन्तुलित यौन र प्रेमले सबैभन्दा बढी तनाव सिर्जना गर्छ ।’ सन्तुलित यौन र प्रेम कसलाई भन्ने ?’ यो आफैमा एक विशद र विवादास्पद विषय हो । (सन्त दर्शन पुष्टकबाट)

Comment As:

Comment (0)