गुगलले आफ्नो एन्ड्रोइड अपरेटिंग सिस्टमको नयाँ संस्करण एन्ड्रोइड क्यू छिट्टै नै लञ्च गर्दैछ । बहुप्रतिक्षित एन्ड्रोइडको यो नयाँ संस्करणमा धेरै नयाँ फिचरहरु उपलब्ध हुने बताइएको छ ।
समाचार अनुसार एन्ड्रोइड क्यू मा गुगलले सिस्टम वाइड डार्क मोड फिचर उपलब्ध गराउनेछ । यो फिचर उपलब्ध भएमा स्मार्टफोनमा स्वचालित रुपमा बाहिरी वातावरणको आधारमा डार्क मोड एक्टिभेट हुन्छ ।
एन्ड्रोइडका विषयमा विभिन्न समाचार तथा खुलासाहरु पस्किरहने एन्ड्रोइड पुलिस नामक वेबसाइटका अनुसार गुगलले एन्ड्रोइड क्यू मा जुन सिस्टम वाइड डार्क मोड फिचर दिनेवाला छ त्यसले तय गरिएको समयमा स्मार्टफोनको डार्क मोड लाई सूर्योदय तथा सूर्यास्तमा अटोम्याटिक रुपमा अन-अफ गर्नेछ ।
अर्थात् अँध्यारो हुँदा स्मार्टफोन आफै डार्क मोडमा जानेछ भने उज्यालो वा घामका बेलामा यो डार्क मोडबाट बाहिर आउनेछ । वास्तवमा यसले विद्यमान एन्ड्रोइड डिभाइसमा रहेको नाइट लाइट फिचर जस्तै काम गर्नेछ ।
सिस्टम वाइड डार्क मोड फिचर सुन्दा निकै राम्रो लाग्न सक्दछ । तर यसमा केही कमीहरु देखिएका छन् । यो फिचरलाई एक्टिभेट गरेपछि यसले स्वचालित रुपमा सूर्योदय र सूर्यास्तको समयमा काम गर्नेछ । यो फिचरलाई आफ्नो आवश्यकताको समय अनुसार अन वा अफ गराउने गरी कस्टमाइज गर्न सकिँदैन । अर्थात् दिनको समयमा कुनै अँध्यारो ठाउँमा जानुपर्यो भने पनि मोबाइल डार्क मोडमा आउने छैन । यद्यपि यो फिचर लञ्च भएसँगै प्रयोगकर्ताका प्रतिक्रिया र गुनासाहरुका आधारमा गुगलले यसलाई अपडेट गर्दै कस्टमाइज गर्न मिल्ने बनाउने अपेक्षा गरिएको छ ।