No icon

अतिक्रमणको चपेटामा बा.न.पा ८ को थारु संग्रहालय स्थल, संरक्षणमा स्थानियहरु

 कमल चौधरी १२ जेठ  कपिलवस्तु। थारु कला संस्कृति प्रदर्शन निर्माणस्थल अतिक्रमण हुन थालेपछि स्थानियहरु संरक्षणमा जुटेका छन् । कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ मोर्मीमा थारु संग्रहालय निर्माण गर्न संरक्षण गरेर राखेको जग्गा अतिक्रमण हुन थालेपछि स्थानिय गाउँका समाजसेवी, बुद्धिजीवि र थारु अगुवाहरु संरक्षणमा जुटेका हुन् । पछिल्लो समय थारु समुदायको भाषा, धर्म, संस्कार–संस्कृति संकटमा पर्दैगएको छ । यसलाई संरक्षण र प्रवद्र्धन गर्न हामी सबैको दायित्व हो । भाषा, धर्म, संस्कार र संस्कृति कुनै पनि जातिय समुदायको अस्तित्व र पहिचानसँग जोडिएको हुन्छ । त्यसैले थारु समुदायको पहिचान लाई लोप हुन नदिन स्थानिय निकाय तथा संघ–संस्था क्रियाशील भएर सहयोग गर्न आवश्यक छ ।

थारु कला संस्कृति प्रदर्शन निर्माणका लागि वि.स. २०७३ मा करिव २८ कठ्ठा क्षेत्रफल रहेको जग्गालाई बाणगंगा नगरपालिका ८ वडा कर्यालय र घरघरमा शिक्षा तथा आत्मानिर्भर विकास संस्थाको पहलमा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभाले जग्गामा तरबार गरेर राखेको भएपनि समयमा नै थारु संग्रहालय निर्माण हुन नसक्दा संग्रहस्थल दायाँबायाँ अतिक्रमण हुन थालेको छ । कोविड १९ कोरोनाको महामारीले देश अहिले संकटमा छ । देश लामो समय लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । यस समय कसैको ध्यान संग्रहस्थलतिर जान नसकेको मौका पारी सुकुम्बासीका घर टहरा निर्माण गर्दै बाटोको लागि छुट्टयााएको जग्गा समेत अतिक्रमण गर्न थालेपछि अतिक्रमण हुन नदिन संरक्षणको पहल सुरु गरेको समाजसेवी तथा गाउँका अगुवा द्रोण हमालले बताउनुभयो ।  त्यस्तै बाणगंगा नगरपालिका वडा–८ मोर्मीटोल विकास संस्थाका अध्यक्ष तथा थारु संस्कृतिक संरक्षण तथा संवद्र्धन सभाका उपाध्यक्ष संक्रान्ती चौधरीले थारु संग्रहालयस्थल अतिक्रमण हुन नदिन संग्रहालय छेउछाउँबाट बाटो निर्माण गरेको बताउनुभयो । उहाँले त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहसँग अर्थिक सहयोग माग गरेर बाटो निर्माण गरेको जानकारी दिनुभयो ।

सुन्दर संग्रहालय स्थल

यस बाणगंगा नगरपालिका वडा नं. ८ बोडगाउँ, मधुवान, बन्डौली, मोर्मी, ढोडेकोल र चप्पार गाउँकोवीच भागमा पर्ने उक्त थारु संग्रहालय “थारु कला संस्कृति प्रदर्शन केन्द्र निर्माणस्थल” वातावरणीय रुपमा अति सुन्दर मनमोहक रहेको छ । शान्त, हरियाली र सुन्दर यस क्षेत्रसंगै जोडिएर रहेको झुलुङ्गे पुलमा घुम्न तथा सेल्फी खिच्न मानिस टाढाबाट आउने गर्छन् । साथै थारु समुदायको चाड पर्वमा पनि यस स्थनमा भेला भएर संस्कृतिक कार्यक्रम समेत गर्ने गर्दछन् । त्रिशक्ति सामुदायिक वन उपभोक्ता समुहका सल्लाहकार तथा अधिवक्ता समेत रहनुभएका समाजसेवी रविराज आचार्यले यस स्थानमा छिट्टै नै थारु संग्रहालय निर्माण हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“लोप हुनलगेको थारु कला, संस्कृतिलाई यस संग्रहालयमा संरक्षण गर्दा पर्यटकीय विकास हुनुको साथै थारु समुदायमा आयआर्जनको पाटोसँग जोड्न सकिन्छ ।”

हुन त प्रदेशसभा सदस्य विष्णु पन्थीले प्रदेश सरकारले आदिवासी जनजाति समुदायलाई लक्षित गरेर बजेट छुट्टयाउने र थारु समुदायका विभिन्न कार्यक्रममा थारु होमस्टे निर्माण गर्न सहयोग गर्ने बताउनुभयो । साथै स्थानिय थारु समुदायलाई आर्थिक पाटोसँग जोडेर विकास गर्ने भाषाण गरेपनि त्यो अझै हुन नसकेको बताउनुभयो । थारु कल्याणकारीणी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारुले थारु संग्रहालय निर्माणका लागि विभिन्न सरोकारवाला संघ, संस्थालाई आफुले झकझक्याई रहेको जानकारी दिनुभयो । उहाँले संग्रहालयमा थारु समुदायको पहिचान झल्कीने ऐतिहासिक बस्तुहरु हुने भएकोले यसलाई छिट्टै नै निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

किन बनेन थारु संग्रहलय
थारु समुदायको संग्रहालय निर्माण हुनु निकै गर्वको विषय हो । तर यसलाई निर्माण गर्न नसक्नु यो थारु समुदायको कमजोरी हो । या थारु संस्कृति संरक्षण तथा संवद्र्धन सभाको या नगरपालिकाको ? गम्भिरतापुर्वक बिचार गर्ने अबस्था आएको छ । कुनै गाउँको मात्र नभई सम्पुर्ण बाणगंगा नगरपालिका थारु समुदायको पहिचानको रुपमा रहेको संग्रहालय यस क्षेत्रका थारु समुदायले सक्रिय भएर आफै निर्माण गर्न खोज्दा पनि स्थानिय निकायले बजेट विनियोजन नगर्दा काम अगाडी बढ्न सकेको छैन । यता बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसालले वडाबाट थारु संस्कृति संरक्षण र प्रवद्र्धन गर्न बजेट छुट्टयाउने गरेको बताउनुभयो ।

संग्रहालय निर्माणको फाईदा

थारु समुदायको संग्रहालय निर्माणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस क्षेत्रको विकास हनेछ । यसकासाथै यस क्षेत्रका आदिवासी थारु समुदायको कला, संकृति, मौलिक भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । थारु संग्रहालय निर्माण हुँदा यस क्षेत्रका ब्राह्मण, क्षेत्री, मगर, गुरुङ्ग, ठकुरी, कसौधन, ठाकुर, अग्रवाल, सुनार, दमाई, मुस्लिम लगायतका जातिहरुले प्रत्यक्ष रुपले संग्रहलयको अवलोकन गर्न पाउने जनप्रतिनिधी शिवप्रसाद पाण्डेले बताउनुभयो । उहाँले थारु समुदायको लोप हुन लागेको भेषभुषा, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न थारु संग्रहालय निर्माण आवश्यक रहेको बताउनुभयो । बाणगंगा नगरपालिकमा वि.स. २०६८ को जनगणना अनुसार कुल ७५ हजार २ सय ४२ जनसंख्या छ । जसमध्ये ३७.१४ प्रतिशत थारु समुदायको मात्र बहुल्यता छ । तर अन्य समुदायको तुलनमा उच्च जनसंख्या भएको यस बाणगंगा नगरपालिका स्थित वडा ८ मा रहेको थारु संग्रहालय निर्माण हुन सकेको छैन ।

Comment As:

Comment (0)