No icon

सकसमा छन् , बालबालिका डिजिटल लतको खतरा


सागर बुढाथोकी  १२ पुस, काठमाडौं । ११ वर्षीय छोराले साबुन पानीले बारम्बार हात धोएको भन्दै महाराजगञ्जका एक अभिभावक बालरोग विशेषज्ञ कहाँ पुगे । बालरोग विशेषज्ञले कान्ति बाल अस्पतालको मानसिक विभाग युनिटमा रिफर गरे । अनौठो लक्षण देखाएका छोरालाई उपचार गर्नुको सट्टा मानसिक विभागमा पठाउँदा अभिभावकलाई ती विशेषज्ञसँग रिस नउठेको होइन । तर मानसिक विभागका चिकित्सकले भनेपछि थाहा भयो-आवश्यकता भन्दा बढी साबुन पानीले हात धुने समस्या मानसिक स्वास्थ्यसँग जोडिएको रहेछ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) को डरका कारण ११ वर्षीय बालकमा समस्या देखिएको चिकित्कले बताए । टेलिभिजनमा आउने कोरोना सम्बन्धी समाचार र घर बाहिर निस्कन नपाउँदा बालकको मनमा डरले डेरा जमाएको रहेछ । महामारीकालमा उनी जस्तै अधिकांश बालबालिका घरमै थुनिए, टेलिभिजन र इन्टरनेटमा व्यस्त भए । त्यसले उनीहरूमा मानसिक समस्या देखिएको मनोचिकित्सकहरू बताउँछन् । मनोचिकित्सकहरू ओसीडी (अब्सेसिभ कम्पल्सिभ डिसअर्डर) भएका बेला बारम्बार हात धुने समस्या देखिने बताउँछन् ।

बच्चाहरूमा अध्याधिक इन्टरनेट प्रयोगको असरले ‘एनोरेक्सिया’ जस्ता मानसिक समस्या देखिएको कान्ति बाल अस्पतालको मानसिक विभाग प्रमुख डाक्टर अरुणराज कुँवर बताउँछन् । ‘एनोरेक्सिया भनेको खाना खानै मन नगर्ने रोग हो’ नेपालका पहिलो बाल साइक्याट्रिक कुँवर भन्छन्,’ ‘यस्ता रोग लागेका बच्चाहरूले आफू जति दुब्लो भएपनि मोटो नै छु भनेर सोच्छन् र अझै दुब्लाउन प्रयास गर्छन् ।’ पहिला पश्चिमा मुलुकमा धेरै देखिने यो रोग अहिले नेपालजस्ता विकासशील देशमा पनि बढेको कुँवर सुनाउँछन् । पहिला यस्तो लक्षण भएका विरामी एकाध आउने गरेको तर अहिले हप्ता-हप्तामै आउने गरेको कुँवरले जानकारी दिए । कुँवर भन्छन्, ‘नेपालमा बालबालिकालाई मानसिक समस्या बढेको देखाउने यो त एउटा दृष्टान्त मात्रै हो ।’

मानसिक रोग उपचारमा संग्लग्न चिकित्सकहरूका अनुसार आत्महत्याको सम्बन्ध मानसिक रोगसंग जोडिएको हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार ४० देखि ६० प्रतिशत वयस्क मानिसलाई देखिने मानसिक समस्या १४ वर्षअघि नै सूरू हुन्छ । सात/आठ वर्षका बालबालिकालाई मानसिक समस्याले सताउनु निकै खतरनाक हुने कुँवरको कथन छ । किनभने यो उमेरका बालबालिकाले आˆनो समस्या व्यक्त गर्न सक्दैनन र, उनीहरूमा आएको परिवर्तन हेरेर यस्ता समस्या थाहा पाउन सकिन्न । वयस्कहरूमा जस्तै बालबालिकामा पनि डिप्रेसन, एन्जाइटी, ओसीडी लगायतका मानसिक समस्या देखिने गरेको डा. गंगा पाठक बताउँछिन् । उनका अनुसार डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्को मान्ने, नियमित काममा अरुचि देखाउने हुन्छन भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कूल जान नमान्ने हुन्छन् ।

यस्तै तीन/चार वर्षको उमेरदेखि देखिन सक्ने ओसीडी भएका बालबालिकाले एउटै कुरा बारम्बार सोधिरहने, कुनै काम गर्न शुरू गरेपछि एकोहोरो गरिरहने गर्छन् । ‘मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम बढ्न थालेको छ’ पाठक सुनाउँछिन् ।

डरलाग्दो बाल आत्महत्या

नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरस सुरु भएको चैत महिनादेखि कात्तिकसम्म ८३ जनाले आत्महत्या गरेका छन् । यसमध्ये ३८ जना बालबालिका थिए । आर्थिक वर्ष २०७५/७६ मा ५ हजार ७५४ जनाले हत्याहत्या गरेको प्रहरीको अभिलेख छ । जसमध्ये २९० जना १२ वर्षभन्दा कम उमेरका छन् । त्यस्तै, आब ०७४/०७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गर्दा २५० जना त्यही उमेर समूहका बालबालिका थिए । ०७३/०७४ मा ५ हजार १२४ आत्महत्याका घटनामध्ये ३०४ वटा घटनामा बालबालिका थिए । दुई दशकदेखि मानसिक स्वास्थ्य सम्बन्धी परामर्शमा दिँदै आएकी पाठक कोरोना महामारी कालमा पहिला भन्दा दोब्बर मानसिक परामर्श दिएको बताउँछिन् । ‘किशोर किशोरीको आत्महत्या प्रयासका घट्ना गएको ६/७ महिनामा धेरै हेर्नुपर्‍यो’ पाठक भन्छिन्, ‘पहिला यति डरलाग्दो घट्ना देखिएको थिएन ।’

डा. कुँवर चाहिँ महामारीकालमा देखिएको मानसिक स्वास्थ्यको अवस्थालाई भूकम्पसँग तुलना गर्छन् । मानसिक समस्याको कारण धेरै मानिसको ‘बिल्लिबाठ’ भएपनि समाजले नजरअन्दाज गरिरहेको उनको अनुभव छ । मानसिक समस्याका कारण वर्षेनी ५-६ हजारले आत्महत्या गर्दा पनि यसलाई गम्भीरतापुर्वक नलिइनु दुखद रहेको उनको भनाइ छ । नेपाल प्रहरीको तथ्यांक अनुसार महामारी सूरू हुनुअघि औसतमा दैनिक १३ देखि १५ जनाले आत्महत्या गर्थे । अहिले त्यो बढेर १७ देखि १९ मा पुगेको छ । यही तथ्यांकलाई नजरअन्दाज गर्दा समाजमा भित्रभित्रै मानसिक समस्याको भूकम्प गएको डा. कुँवर बताउँछन् । उनी भन्छन्, ‘बालबालिका र युवाहरू हरेक वर्ष आत्महत्या गरेर मरिहरनु सामान्य भूकम्प होइन ।’

किशोर-किशोरीमा प्रभाव

नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार १६ वर्ष उमेर समूहका ७.७ प्रतिशत र १७ वर्षका ६.६ प्रतिशतमा मानसिक समस्या देखिएको छ । एनएचआरसीको सर्वेक्षणमा ९२०० जना १८ वर्ष माथिका र ५ हजार ८८८ जना १३ देखि १७ वर्ष सम्मका किशोरकिशोरी सहभागी थिए । लैंगिक हिसाबले किशोरीहरूमा बढी समस्या देखिएको छ । ५.३ प्रतिशत किशोरीमा र ५ प्रतिशत किशोरमा मानसिक समस्या देखिएको सर्वेक्षणको निष्कर्ष छ । सर्वेक्षणमा ५.२ प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, ०.६ प्रतिशतमा उदासीनता, ३.९ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख छ ।सर्वेक्षणका अनुसार प्रदेश १ का किशोरकिशोरीमा मानसिक समस्या बढी (११.४ प्रतिशत) छ ।

कतिपय यस्तो समस्या आफैं निको हुन्छ होला भन्ने सोचाइले चिकित्सको परामर्शका लागि नजाने गरेको सर्वेक्षणको निष्कर्ष छ । धेरै मानिस भने मानसिक रोग पनि अरु रोग जस्तै हो भन्ने नबुझेर मनोचित्सक कहाँ नजानेर गरेको जानकारहरू बताउँछन् । २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । मानसिक समस्या देखिँदा कसैले जोखाना हेर्न, पूजाआजा र धामीझाँक्री लगाउने गरेको पाइएको सर्वेक्षणमा उल्लेख छ । ‘धेरै जसो धामीझाँक्री वा अन्य उपाय गर्दा निको नभएपछि हामी कहाँ आएका हुन्छन्’ डा. कुँवर भन्छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले बालबालिकामा मानसिक स्वास्थ्यको विषयमा गहन अनुसन्धान गरेका छैनन् ।

केही संस्थाहरूले गरेको सर्वेक्षणमा १० प्रतिशत नेपाली बालबालिकालाई डिप्रेशन छ भन्ने देखाएको थियो । त्यस्तै त्यही अध्ययनमा दुई प्रतिशत बालबालिकामा ‘एञ्जाइटी’ भएको भनिएको छ । एक अन्तराष्ट्रिय अध्ययनले १५ देखि २० प्रतिशत बालबालिकामा मानसिक समस्या देखिने निष्कर्ष निकालेको छ । यद्यपि गहन र विश्वसनीय अनुसन्धान नभएकाले नेपालमा बालबालिकाको मानसिक स्वास्थ्य सधै नै नजरअन्दाजमा परिरहेको कुँवर बताउँछन् । बालबालिकमा देखिएको मानसिक समस्याले वयस्क हुदाँसम्म सताउने विभिन्न अनुसन्धानको निष्कर्ष छ । त्यसैले पनि समयमै रोग पहिचान गरेर निको पार्न सके मानसिक रोगको असर कम हुने मनोचिकित्सकहरु बताउँछन् ।

डिजिटल लतको खतरा

‘मेरो बच्चालाई मोबाइल भएपछि अरु केही चाहिँदैन, मोबाइल भएन भने त भातको गास नै हाल्दैन’ यो, आमअभिभावकको गुनासो हो । डा. गंगा पाठक बालबालिकालाई मानसिक समस्या जन्माउने कारण नै ‘डिजिटल एडिक्सन’ भएको बताउँछिन् । महामारीका बेला घरबाट बाहिर निस्किन नपाउँदा यस्तो लत झनै बढेको उनको विश्लेषण छ । साइबर बुलिङका कारण मानसिक समस्या भोगिरहेका बालिकालाई काउन्सिलिङ गरिरहेकी पाठक भन्छिन्, ‘महामारीकालमा साइबर बुलिङ भोगेका बालबालिकाको अनुभव विभत्स छ, जसले उनीहरूमा मानसिक समस्या देखाएको छ ।’(स्रोतः अनलाईनबाट)

Comment As:

Comment (0)