No icon

प्रधानमन्त्रीले साबेल चलाएर थाले अप्टिकल फाइबर बिछ्याउने काम

६ जेठ, काठमाडौं । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने योजनाको सोमबार शिलान्यास भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका हुन् ।

नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तारका लागि काम अघि बढ्न लागेको हो ।

टेलिकमले पाचँथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको छ । मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर  र राजमामार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार पाँच सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याउने काम गर्ने टेलिकमको योजना छ ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउनेछ । प्राधिरकण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते नै सम्झौता भएको थियो । झण्डै अढाई वर्ष ढिला गरेर काम अघि बढ्न लागेको हो ।

यसअन्तर्गत पूर्वको पाँचथर जिल्लाको चिवाभञ्ज्याङदेखि पश्चिमको गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर बिच्छ्याउनका लागि टेलिकम र प्राधिकरणबीच सम्झौता भएको थियो ।

टेलिकमले यो योजनाका लागि पाँचओटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।

Comment As:

Comment (0)